NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व तृतीया - ३

परिचय

मानव स्वास्थ्यको रक्षा र वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व अन्तर्गत पर्दछ। वातावरण एक वृहत् विषय हो जसले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा तीनीहरु बीचको अन्तरक्रिया र अन्तर सम्बन्धलाई जनाउँछ । वर्तमान सन्दर्भमा प्रमुख रुपमा रहेका वातावरणीय समस्याहरू वायु प्रदुषण, पानी र माटोको प्रदूषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानव सिर्जित वातावरणीय समस्या हुन् । यी समस्याहरूको समाधान मापदण्डसहित नियन्त्रण र नियमन गर्नु आवश्यक रहेको छ ।

नेपाल पनि वातावरण विनाशको बढ्दो दर र त्यसको व्यवस्थापनको विश्वव्यापी चासोबाट अछुतो रहन सक्दैन । त्यसकारण, नेपालमा वातावरणीय समस्याहरू न्यूनीकरण गर्नको लागि वातवारणीय मापदण्डहरू लागू गर्न दबाब दिने र अनुगमन गर्ने एउटा आधिकारिक निकायको आवश्यकता बोध लामो समय अघिदेखि नै गरिदै आएको थियो । वातावरणीय व्यवस्थापनको अवधारणालाई स्थानीय स्तरसम्म पुरयाउने, नेपालको जलवायु परिवर्तनका कारण सिर्जित समस्याहरूलाई समाधान गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच समन्वय कायम गर्ने र वातावरणीय व्यवस्थापनको प्रभावकारी अनुगमन गर्ने जस्ता कार्यहरू सम्पादन गर्न विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्र्तगत नेपाल सरकार (मन्त्रिपरिषद्) को वि.सं. २०६९ साउन १२ गतेको निर्णयानुसार वातावरण विभागको गठन भई २०६९ चैत्र १ गते देखि काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका स्थित सूचना प्रविधि पार्कबाट कार्य सञ्चालन शुरु गरेको थियो । मिति २०७०/०७/११ बाट कुपण्डोल, ललितपुरबाट कार्य गर्दै आएकोमा हाल वातावरण विभाग काठमाडौं जिल्लाको बबरमहलको वन परिसरभित्रमा अवस्थित छ । जल, वायु, जमिन र ध्वनि प्रदुषण लगायतका जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनको क्षेत्रमा वातावरण विभाग अग्रणी संस्था रहनेछ, जसले देशको गुणस्तर युक्त वातावरण कायम राख्न र प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।