मानव स्वास्थ्यको रक्षा र वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व अन्तर्गत पर्दछ। वातावरण एक वृहत् विषय हो जसले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा तिनीहरु बीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई जनाउँछ । वर्तमान सन्दर्भमा प्रमुख रुपमा रहेका वातावरणीय समस्याहरू वायुप्रदुषण, पानी र माटोको प्रदुषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानवसिर्जित वातावरणीय समस्या हुन् । यी समस्याहरूको समाधान मापदण्डसहित नियन्त्रण र नियमन गर्नु आवश्यक रहेको छ ।
नेपाल पनि वातावरण विनाशको बढ्दो दर र त्यसको व्यवस्थापनको विश्वव्यापी चासोबाट अछुतो रहन सक्दैन । त्यसकारण, नेपालमा वातावरणीय समस्याहरू न्यूनीकरण गर्नको लागि वातवारणीय मापदण्डहरू लागू गर्न दबाब दिने र अनुगमन गर्ने एउटा आधिकारिक निकायको आवश्यकता बोध लामो समय अघिदेखि नै गरिदै आएको थियो । वातावरणीय व्यवस्थापनको अवधारणालाई स्थानीय स्तरसम्म पुरयाउने, नेपालको जलवायु परिवर्तनका कारण सिर्जित समस्याहरूलाई समाधान गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच समन्वय कायम गर्ने र वातावरणीय व्यवस्थापनको प्रभावकारी अनुगमन गर्ने जस्ता कार्यहरू सम्पादन गर्न विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्र्तगत नेपाल सरकार (मन्त्रिपरिषद्) को वि।सं। २०६९ साउन १२ गतेको निर्णयानुसार वातावरण विभागको गठन भई २०६९ चैत्र १ गते देखि काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिकास्थित सूचना प्रविधि पार्कबाट कार्य सञ्चालन शुरु गरेको थियो । मिति २०७०/०७/११ बाट कुपण्डोल, ललितपुरबाट कार्य गर्दै आएकोमा हाल वातावरण विभाग काठमाडौं जिल्लाको बबरमहलको वन परिसरभित्रमा अवस्थित छ । जल, वायु, जमिन र ध्वनि प्रदुषणलगायतका जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनको क्षेत्रमा वातावरण विभाग अग्रणी संस्था रहनेछ, जसले देशको गुणस्तरयुक्त वातावरण कायम राख्न र प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।